काठमाडौँ ।

भारतको बिहारमा आज पहिलो चरणको विधान सभा चुनावको मतदान भइरहेको छ । केही समयअघिदेखि मतदान प्रक्रिया सुरु भएको बीबीसी हिन्दीले जनाएको छ ।

पहिलो चरणमा १८ जिल्लाका एक सय २१ विधान सभा सीटका लागि मतदान हुँदैछ, जसमा राजधानी पटना पनि समावेश छ । यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा, र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादव जस्ता ठूला नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।

शान्तिपूर्ण मतदान सुनिश्चित गर्न भारतको निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था गरेको छ र संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी बढाएको छ ।

दोश्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका एक सय २२ विधान सभा क्षेत्रहरूमा हुनेछ र मत परिणाम नोभेम्बर १४ मा घोषणा गरिनेछ ।