काठमाडौँ ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरूले बताएका छन् ।

८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने बताएकी छन् ।

उनलाई बीएनपीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ, तर हाल उनको स्वास्थ्य निकै कमजोर रहेको बताइन्छ ।

सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयसम्म प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा जेल सजाय भोगेकी थिइन् ।

तीन पटक बंगलादेशको सरकार नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । तर हसिनाको सत्ताच्युत भएपछि उनी गत वर्ष रिहा भएकी थिइन् ।

सन् २००४ मा हसिनाको र्‍यालीमा भएको ग्रिनेड आक्रमणको आरोपमा हसिनाका छोरा तारिक रहमान (तारिक जिया) लाई उनीविरुद्धको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो । ५९ वर्षीय तारिक रहमान सन् २००८ देखि बेलायतमा बस्दै आएका छन् । हसिनाको पतनपछि उनलाई उनीविरुद्धको गम्भीर आरोपबाट मुक्त गरिएको छ ।

दशकौँदेखि बंगलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित हुँदै आएको छ, जसलाई “ब्याटल अफ द बेगम्स” भनिन्छ ।

यो प्रतिद्वन्द्विता सन् १९७५ मा शेख हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको ‘कू’ मा हत्या भएपछि देखिन थालेको हो ।

मुजिबुर रहमानको हत्याको तीन महिनापछि जियाका श्रीमान्, तत्कालीन उपसेना प्रमुख जियाउर रहमान, ले सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । उनी सन् १९७७ मा राष्ट्रपति बनेका थिए र सन् १९८१ मा हत्या गरिएका थिए ।

त्यसबेला ३५ वर्षकी जिया दुई सन्तानकी आमा रहेकी थिइन् र बीएनपीको नेतृत्व विरासतमा पाएकी थिइन् । सुरुमा सिकारु राजनीतिक नेताका रूपमा नेतृत्वमा आएकी जिया पछि हसिनाको शक्तिशाली प्रतिद्वन्द्वी बनेकी थिइन् । उनले सैनिक तानाशाह हुसेन मुहम्मद इर्साद को बिरूद्ध आन्दोलनको नेतृत्व गर्दै सन् १९९० मा इर्सादलाई अपदस्थ गराइन् ।

त्यसपछि डेढ दशकसम्म दुई महिला नेताहरू पालैपालो सत्तामा रहेका थिए ।