बाणगंगा ।
कपिलबस्तु प्रहरीले छापा हानी १ सय ७९ बोरा डिएपी मल बरामद गरेको छ ।

जिल्लाको बाणगंगा नगरपालिका–१० मेचखुरीस्थित स्थानीय सुलेमानको गोदाममा शुक्रबार बिहान प्रहरीले छापा हानी अनुदानका १ सय ७९ बोरा मल बरामद गरेको हो ।

सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यको निर्देशनमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा गएको टोलीले उक्त गोदाममा छापा मारेको हो ।

प्रहरी उपरीक्षक आचार्यका अनुसार बरामद गरिएको मलको कुनै पनि कागजात फेला परेन । बरामद मललाई राजस्व अनुसन्धान विभाग वा भन्सार कार्यालयमा बुझाउने विषयमा अहिले छलफल भइरहेको पनि उनले जानकारी दिए ।

यो घटनाले कपिलबस्तुमा अनुदानको मलको कालोबजारी अझै जारी रहेको पुष्टि भएको छ । स्थानीय कृषकहरूका अनुसार कृषि सहकारीमार्फत वितरणका लागि आएको मल बढी मूल्य लिएर व्यापारीहरूलाई बेच्ने प्रचलन बढ्दो छ ।