बुटवल, १३ कात्तिक ।
कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

शिवराज नगरपालिका–१, बनकसबासामा बिहीबार बिहान करिब दुई बजे दुर्घटना भएको हो ।

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रु बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसले बाटोमा हिँडिरहेका एक पैदल यात्रुलाई ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार मृतकको नाम र ठेगाना हालसम्म खुल्न सकेको छैन । बसमा सवार पाँच जना यात्रु घाइते भएका छन् ।

उनीहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक घिमिरेले बताए ।