काठमाडौँ ।

देशमा हाल पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान देशभर सामान्यतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ भने बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको क्रम जारी छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसँगै बाँकी पहाडी भूभागमा अधिकांश स्थानमा आकाश बदली रहने अनुमान गरिएको छ । तराई भूभागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको पूर्वानुमान गरिएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा अधिकांश स्थानमा बदली रहनेछ । तराई भूभागमा सामान्य बदली रहने सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा पनि हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । साथै, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी महाशाखाले दिएको छ ।