बुटवल, १२ कात्तिक ।

रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडकखण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अनियन्त्रित भई सडकछेउमा रहेको बाँझिको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो । दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन् । आचार्यको कात्तिक १२ गते राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै थापा र बिकको पनि कपिलवस्तुस्थित पिपरा अस्पतालमै उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । उनीहरूलाई टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा नै थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल र मर सिटी अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अत्यधिक गतिका कारण गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाग्रस्त गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।