काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ । सोही प्रणालीको असरका कारण आज देशभरको मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषणमा उल्लेख गरिएको छ ।

आज दिनभर बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ । तराईका अधिकांश भू–भागमा भने आंशिक बदली मात्र रहने अनुमान गरिएको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।