१० कात्तिक, काठमाडौं ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइँदैछ ।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

ब्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा पालन गर्छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका विभिन्न स्थानमा पूजास्थल निर्माण गरिएको छ ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी र हिमाली क्षेत्रका मानिसहरूले पनि मनाउन थालेका छन् । यसले सामाजिक सद्भाव र एकता कायम गर्न मद्दत गरेको छ ।

छठ पर्वको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकामना पूरा हुने, परिवारको कल्याण हुने र सम्पूर्ण दुःख–कष्ट हट्ने जनविश्वास छ ।

व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुहरूले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई सात्विक भोजन गरेर बस्ने परम्परा पालन गर्छन् । यस कारण यो पर्व अत्यन्तै पवित्र र धार्मिक चाडका रूपमा स्थापित भएको छ ।