गुल्मी, ९ कात्तिक ।

गुल्मीको मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १९ वर्षीय सह–चालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पुनको स्थायी ठेगाना प्युठान जिल्ला, गौमुखी गाउँपालिका–३ रजवार रहेको प्रहरीले जानकारी दिएको छ ।

गए राति करिब ११ः३० बजे, मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आउँदै गरेको रा १ त ३५०२ नम्बरको ट्याक्टर उकालो बाटोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिए ।

ट्याक्टरबाट हाम फाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते भएका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो ।

ट्याक्टर चालक मदाने गाउँपालिका–१ अग्लुङका २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।