८ कात्तिक, काठमाडौं ।

गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो ।

पौडेलको एक सातासम्म उपचारपछि शुक्रबार बिहान मृत्यु भएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

१ कात्तिकमा पौडेलले स्टुडियोमा शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेकी थिइन् ।

मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । उनले आफ्नी बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन् ।

गणेशका अनुसार, विगत ८–९ वर्षदेखि नितु र गायक बाबुल गिरीबीच प्रेम सम्बन्ध थियो । उनका भनाइमा, दुई जनामात्र भएको कोठाभित्र नै बहिनीलाई जलाइएको हो ।

सम्बन्धित स्टुडियो गायक बाबुल गिरीकै हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिले सम्म केही खुलाएको छैन ।

प्रहरीका अनुसार, घटना हाल अनुसन्धानको क्रममा छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बयान बाबुल गिरीले प्रहरी समक्ष दिएका छन् ।