काठमाडौँ ।

स्थानीय प्रशासनबाट अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकामध्ये २४ महिला र २६ पुरुष छन् ।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको दाबी गरे । उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरे ।

‘हामी जेनजीहरू एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावनासहित माइतीघर पुगेका थियौँ । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति पाएनौँ, दिइएन,’ कार्कीले भने ।