कपिलवस्तु, २९ असोज ।

कपिलवस्तु नगरपालिका–९ स्थित जगदीशपुरमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।

दुर्घटनामा परि बाणगंगा नगरपालिका–९, भलवाड निवासी रमेश आर्चायको मृत्यु भएको हो । उनको शव हाल पिपरा अस्पतालमा राखिएको छ ।

मोटरसाइकलमा सवार अर्का सुजन सुनार गम्भीर घाइते भएका छन् । हाल उनको बुटवलस्थित सनराइज इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।