काठमाडौँ

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ। बाँकी भूभागमा मनसुनी वायु र स्थानीय बायुको कमजोर प्रभाव देखिएको छ।

यसका कारण, आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। देशका अन्य भूभागमा आंशिक बदली हुनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, साथै बागमती प्रदेशका थोरै स्थानहरू र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति, कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, जबकि बाँकी भूभागमा मुख्यत: सफा मौसम रहनेछ। कोशी र मधेस प्रदेशसहित बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।