काठमाडौं ।
धन, धान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेर मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्न हुँदैछ । यससँगै १५ दिन लामो बडादसैँ पर्वको समापन हुनेछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा सायंकाल देवी महालक्ष्मीको पूजा गरी जाग्राम बसेर मनाइन्छ । देवी महालक्ष्मीले पृथ्वी भ्रमण गर्ने रातका रूपमा मानिने भएकाले यस रात जाग्राम बसेका घरमा धन–सम्पत्तिको बास हुने धार्मिक विश्वास छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति — अर्थात् अखिल बलिपूर्ति — पनि आजै गर्नुपर्छ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा ग्रहण गरी मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजबाट समाप्त हुने शास्त्रीय मान्यता छ ।

अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, पोखरी वा पवित्र तीर्थस्थलमा लगी विसर्जन गर्ने परम्परा छ ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, दुर्गा पक्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म चल्ने भएकाले नवरात्र विजयादशमीमा टुंगिए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ ।

महालक्ष्मी देवी माता दुर्गाका तीन रूपमध्ये एक भएकाले आजको दिनलाई विशेष धार्मिक महत्त्व दिइन्छ । लक्ष्मी पूजाको १५ दिनअघि नै महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमा विशेष मानिएको हो । यो पूर्णिमालाई ‘कौमुदी’ पूर्णिमा पनि भनिन्छ ।

आजको राति जुवा खेल्ने विधान समेत रहेको ढकालले बताए । महालक्ष्मीको पूजा गर्दा हात्तीमा सवार इन्द्रको पनि पूजा गर्नु पर्ने शास्त्रीय परम्परा छ ।

यसैबीच, कार्तिक स्नान सुरु भई तुलसीको विशेष पूजा पनि आगामी मङ्गलबार (असोज २१ गते) बाट आरम्भ हुने जनाइएको छ । त्यस दिन साँझदेखि नै आकाशदीपदान गर्ने परम्परा पनि सुरु हुनेछ ।