पशुपति गिरी, कपिलवस्तु ।
बाणगंगा नगरपालिका–२ मा रहेको लालमटिया सामुदायिक वन उपभोक्ता समूहको १५ औं वार्षिक साधारण सभा आफ्नै कार्यालय परिसरमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु डिभिजन वनका प्रमुख इश्वरी प्रसाद पौडेलले सामुदायिक वनले वातावरण संरक्षण मात्र नभई स्थानीयको आय–आर्जन र जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो।

त्यसैगरी विशिष्ट अतिथि बाणगंगा वडा नं.२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता बिष्णु पौडेलले सामुदायिक वनलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउन सबै उपभोक्ताले बराबरी जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पिपरा सब–डिभिजन वन कार्यालयका प्रमुख मोहन मिश्रले सामुदायिक वनलाई सुशासन र सहभागितामूलक अभ्यासको उत्कृष्ट उदाहरणका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

सभामा समितिका अध्यक्ष गिरधारी थारुले स्थानीय स्रोत साधनको पहिचान र परिचालन, सम्पर्क–समन्वयमा आधारित विकास र विस्तार, सदस्यलाई सहयोग गर्ने मूल्यमा आधारित दिगो र सुशासनयुक्त सामाजिक संस्था निर्माण गर्ने लक्ष्य प्रस्तुत गर्नुभयो।

साधारण सभाले चालु आर्थिक वर्षका लागि करिब १ करोड रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ। साथै, सचिव विपना पौडेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गरिएको छ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सरोकारवालाहरू तथा उपभोक्ताहरूको उल्लेख्य उपस्थिती रहेको थियो।