काठामाडौँ ।

एसिया कप २०२५ को लिग चरणअन्तर्गत भएको खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ ।

भारतले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याउँदै ओमानले निर्धारित २० ओभरमा १६७ रन मात्रै बनाउन सक्यो । ओमानले आफ्नो इनिङका क्रममा केवल चार विकेट मात्र गुमायो ।

भारतका लागि आठ बलरले आ–आफ्नो योगदान दिएका थिए । खेलमा विकेटकिपर सञ्जु सामसनले ५६ रनको अर्धशतक बनाएका थिए भने ओपनर अभिषेक शर्माले मात्र १५ बलमा ३८ रनको विस्फोटक इनिङ खेलेका थिए । यद्यपि यी दुई ब्याट्सम्यानबाहेक अन्य भारतीय खेलाडीले ३० रन कटाउन सकेनन् । भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा आठ विकेटको क्षतिमा १८८ रन बनाएको थियो ।

ओमानका लागि आमिर कलीमले ६४ रन र हम्माद मिर्जाले ५१ रनको अर्धशतकिय इनिङ खेले । ओमानले पहिलो विकेट ५६ रनमा गुमाएको थियो भने दोस्रो विकेट १४९ रनको स्कोरमा खसेको थियो ।

भारतविरुद्ध ओमानको प्रतिस्पर्धात्मक प्रदर्शनको व्यापक प्रशंसा भइरहेको छ । पूर्व भारतीय क्रिकेटर इरफान पठानले इन्स्टाग्राममार्फत ओमानको खेलको खुलेर प्रशंसा गरेका छन् । उनले लेखेका छन् — ‘प्रिय ओमान, क्रिकेट राम्रो खेल्यौँ।’

क्रिकेट समर्थकहरूले पनि सामाजिक सञ्जालमा ओमानको जुझारु खेलको तारिफ गरिरहेका छन् ।