काठमाडौँ, ३ असोज

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

समारोहमा पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा र विशिष्ट पाहुनाहरूको उपस्थिति थियो ।

यही समारोहमा ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सुदन गुरुङ पनि सहभागी भए । भदौ २३ र २४ मा भएको जेन-जेड आन्दोलनपछि सार्वजनिक चर्चामा आएका गुरुङ हाल उक्त आन्दोलनका प्रतिनिधि पात्रका रूपमा विभिन्न कार्यक्रमहरूमा देखिँदै आएका छन् ।

शीतलनिवासको कार्यक्रममा विभिन्न व्यक्तित्वहरू आपसमा छोटो कुराकानीमा रमाइरहेका थिए । यस्तै क्रममा, गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग करिब ४ मिनेटजति कुराकानी गर्ने अवसर पाए ।

नेपालखबरसँगको कुराकानीमा गुरुङले भने, “३/४ मिनेट कुरा भयो । खासै धेरै कुरा त भएन, तर मैले उहाँलाई भनें जेनजी आन्दोलनले केही जनधनको क्षति पनि गर्‍यो, तर केही उपलब्धिहरू पनि दिलाएको छ, त्यसको रक्षा गर्न सहयोग गर्नुस्। पुरानै ढर्राले अब चल्दैन भनेँ ।”

गुरुङका अनुसार, गगन थापाले आन्दोलन र जेनजीको उपस्थितिलाई नजिकबाट नियालिरहेको बताएका थिए । थापाले पार्टीभित्र समेत जेनजीको माग सम्बोधन गर्ने प्रयास भइरहेको जानकारी गराएको गुरुङले सुनाए ।

“उहाँले भन्नुभयो ‘म पार्टीभित्र पनि जेनजीको शैलीअनुसार काम गर्न थालेको छु । आन्दोलन र त्यसपछिको जनभावना बुझ्दैछु ।’ त्यसमा म खुसी छु,” गुरुङले बताए ।

त्यस्तै, कार्यक्रममा गुरुङको अन्य नेताहरूसँग भने विशेष कुराकानी नभएको उनले जानकारी दिए ।