काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थानको आसपास सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप देशभर सामान्यतया बदलीको अवस्था देखिएको छ ।

देशका पहाडी भूभागका केही थलोहरूमा र तराईका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आकाश सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहनेछ भने बाँकी तराई क्षेत्रहरूमा आंशिक बदली रहने जनाइएको छ । यिनै प्रदेशका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।