काठमाडौं ।

हाल देशमा सक्रिय मनसुन प्रणालीको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ भने अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले समेत देशको मौसममा प्रभाव पारेको छ ।

यसको प्रभावस्वरूप देशका पहाडी भूभागमा सामान्य बदली रहँदा अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था देखिएको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै, कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ ।

आज राति पनि देशभर सामान्य बदलीको अवस्था रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा अन्य केही भूभागमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।