काठमाडौं, ३१ भदौ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनवार्ता हुने तय भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, दुबै प्रधानमन्त्रीबीचको फोन संवाद आगामी बिहीबार बिहान ११:३० बजेका लागि तय गरिएको छ । मंगलबार नै वार्ता हुने सम्भावना थियो, तर अन्तिम समयमा कार्यक्रम सारिएको हो ।

स्रोतले भन्यो, “भोलि (बुधबार) नेपालमा शोक बिदा दिइएकाले सम्भवतः पर्सि बिहान ११:३० बजे फोनवार्ता हुनेछ ।”

प्रधानमन्त्री कार्कीको नियुक्ति भदौ २३ र २४ गते जेनजी आन्दोलनपछिको जनदबाबमा भएको थियो । उनी अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत कार्कीलाई बधाई दिइसकेका छन् । उनले मणिपुरमा आयोजित एक कार्यक्रमका क्रममा कार्कीको नेतृत्वलाई महिला सशक्तीकरणको प्रेरणादायी उदाहरणको रूपमा प्रस्तुत गरेका थिए ।