काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सामाजिक सञ्जालमार्फत फकाउने प्रयास गरेका छन् ।

सामाजिक सञ्जालमै हर्कले आक्रोश पोख्दै बालेनप्रति कडा टिप्पणी गरेपछि बालेनले सार्वजनिक रूपमा भावनात्मक सन्देश लेख्दै सम्बन्ध सुधार्ने संकेत गरेका हुन् ।

बालेनले फेसबुकमार्फत लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।”

यसअघि हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा बालेन अग्रपंक्तिमा नदेखिएको भन्दै आलोचना गरेका थिए । उनले लेखेका थिए, “लुकेर बस्ने र लुकेर खेल्नेलाई ‘गेमर’ भनिन्छ, लिडर भनिँदैन ।”

हर्कले प्रधानमन्त्रीको दाबी गर्दै केही समयअघि काठमाडौँसमेत आएका थिए । जंगी अड्डासम्म समर्थकहरू उतारेर शक्ति प्रदर्शन गरे पनि अन्ततः सुशीला कार्कीलाई अगाडि सारिएपछि उनी असन्तुष्ट बनेका थिए ।

फेसबुकमै पोस्ट गर्दै उनले आफूलाई खानेपानी तथा श्रम र रोजगार मन्त्रालय जिम्मा दिने प्रस्ताव आएको तर नलिएको दाबी पनि गरेका छन् । हाल उनी पुनः धरान फर्किसकेका छन् ।