काठमाडौँ ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनी र लुटपाटपछि लुटिएको सुन, चाँदी र नगद रकम फिर्ता गरिएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालका अनुसार जनप्रतिनिधि, समाजसेवीको पहल र प्रहरीको सक्रियतामा लुटिएको सम्पत्ति फिर्ता गराइएको हो ।

राजस्व अनुसन्धान कार्यालयबाट लुटपाट गरिएको दुई लाख ५२ हजार रुपैयाँ नगद, ४२१ ग्राम सुन र ९ किलो चाँदी फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

यसै क्रममा सोमबार मात्र इलाका प्रहरी कार्यालय, कोहलपुरमा एक लाख १७ हजार नेपाली रुपैयाँ र ८४ हजार भारतीय रुपैयाँ फिर्ता भएको हो । फिर्ता गरिएका नगद, सुन र चाँदी पीडित पक्षलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

‘जेनजी पुस्ता’ नामक आन्दोलनको क्रममा बाँकेको विभिन्न सरकारी कार्यालयहरूमा आगजनी र लुटपाटका घटना भएको पाइएको छ ।

यसअघि आइतबार, कोहलपुर नगरपालिका–२ बाट रु ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा कोहलपुर–५ निवासी १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर, र नेपालगन्ज उपमहानगरपालिका–१८ निवासी २६ वर्षीय ऋषिकेश मिश्र छन् ।