काठमाडौँ ।

नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ मन्त्रीको रूपमा नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीहरूमध्ये रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत, सिँचाइ, भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्रालय, र ओमप्रकाश अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ। बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने बताइएको छ ।