काठमाडौं,२८ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशको नेतृत्वमा न्यायको प्रतीक भएको विश्वास व्यक्त गर्दै आफू न्यायको आशासहित पुनः कारागार फर्कन लागेका बताएका छन् ।

आज (शनिबार) आफ्नै जन्मदिन परेको जानकारी दिँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफू स्वयंलाई फेरि कारागार पठाउन लागेको उल्लेख गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश र विस्तृत स्टाटस प्रकाशित गर्दै अघिल्लो सरकारले आफ्नो जीवनमा चरम राजनीतिक प्रतिशोध लिएको आरोप लगाए ।

“पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जीवन कष्टकर बनाएको थियो। तर, आज देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री बन्नुभएको छ । अब भने अन्याय हुने छैन भन्ने आशासहित म कारागार फर्कंदैछु,” — लामिछानेले भनेका छन् ।

नख्खु कारागारमा रहेका सभापति लामिछाने २४ भदौमा कारागारबाट बाहिरिएका थिए। सुरुमा उनले कारागार प्रशासनको निर्णय अनुसार बाहिरिएको दाबी गरेका थिए । तर, उक्त निर्णयको औपचारिक कागजात सार्वजनिक नभएपछि आलोचना चुलिएको थियो ।

त्यसपछि उत्पन्न विवादप्रति प्रतिक्रिया दिँदै लामिछानेले स्वेच्छाले पुनः कारागार फर्कने निर्णय गरेका हुन् । उनले यस विषयमा मिडियामा भइरहेको चर्चा परिचर्चाप्रति असन्तोष जनाउँदै अनावश्यक मिडियाबाजी भएको आरोप पनि लगाएका छन् ।