काठमाडौं, २७ भदौ ।

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका घटनासम्बन्धी तस्बिर, भिडिओ र सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन सर्वसाधारणसमक्ष अनुरोध गरेको छ ।

प्रहरीले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आन्दोलनको नाममा भएको हिंसा, आगजनी, लुटपाट र सर्वसाधारणमा आतंक सिर्जना गर्ने किसिमका कार्यहरूमा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धानका लागि यस्ता सामग्री सहयोगी हुने बताएको छ ।

सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट तथा आम सर्वसाधारणमा त्रास फैलाउने कार्यहरू सम्बन्धी तस्बिर, भिडिओ तथा सामाजिक सञ्जालका लिङ्कहरू यदि तपाईंहरूसँग छन् भने कृपया प्रहरीको इमेलमा पठाई अनुसन्धानमा सहयोग पुर्‍याउनुहोस् ।”

प्रहरीले प्राप्त सूचनाप्रति पठाउने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने स्पष्ट पारेको छ ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन हिंसात्मक बन्दै जाँदा सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत, विभिन्न सरकारी तथा पार्टी कार्यालयहरू, निजी घर र व्यवसायिक प्रतिष्ठानहरूमा समेत तोडफोड र आगजनी गरिएको थियो ।

प्रदर्शनका क्रममा हालसम्म ५१ जनाको ज्यान गइसकेको छ ।