काठमाडौँ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावस्वरूप देशभर सामान्यतया बदली रहेको छ ।

महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

साथै, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्य बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।