काठमाडौं, २६ भदौ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले आफू सामाजिक सञ्जालमार्फत जबर्जस्ती राजीनामा दिन बाध्य भएको बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा ज्यानै जाने खतरा उत्पन्न भएपछि यस्तो कदम चाल्नुपरेको उल्लेख गर्दै उनी अहिले पुनः सक्रिय रूपमा संगठनमा फर्किएको घोषणा गरेका छन् ।

कडरियाले बिहीबार फेसबुकमार्फत एक लामो स्टाटस लेख्दै भनेका छन्, “त्यसबेला जबर्जस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन बाध्य बनाइयो ।

सायद त्यस्तो पोस्ट नगरिएको भए म आज जिउँदो हुने थिइनँ । तर प्रस्ट पार्न चाहन्छु मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन ।”

उनले आन्दोलनका क्रममा आफूलाई कुटपिट गरिएको दाबी गर्दै भनेका छन्, “हो, मलाई मार्न आएका हुन्, यो सत्य हो । हातपात पनि भयो र मार्न खोजियो। एक जना चिनेको भाइले बचाएकै हो, ऊप्रति जीवनभर कृतज्ञ रहनेछु ।”

कडरियाले यस्तो कठिन परिस्थितिमा सबै राजनीतिक र सामाजिक पक्ष संयमित हुनुपर्नेमा जोड दिँदै संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, “आज हामी सबैले एकअर्कालाई दोषारोपण होइन, एकताभावका साथ संयमित हुन जरुरी छ। यस्तो बेलामा संविधान रक्षाको निम्ति सबै एक हुन जरुरी छ ।”

एमालेप्रति आफ्नो अटल समर्थन जनाउँदै उनले भनेका छन्, “अब कसैले मारे पनि एमाले छोड्दिनँ, यो नै सत्य हो । यो सबै परिस्थितिले पुष्टि गर्छ कि देशलाई माया गर्ने एमाले नै हो ।”

आफूबाट गल्ती भएको स्वीकार गर्दै उनले पार्टी र कार्यकर्ताहरूसँग क्षमायाचना गरेका छन् । उनले भनेका छन्, “देश संविधानअनुसार नै चल्नुपर्छ ।

देशका वरिष्ठ नेताहरू यो परिस्थितिको सामना गर्न नसक्दा मबाट कमजोरी भएकै हो। यसबाट एमालेजनमा पुर्‍याएको चोटप्रति क्षमाप्रार्थी छु । सबै परिस्थितिको निम्ति आत्मआलोचित छु । मानिसले भुलहरूबाट नै सच्चिने हो। अहिलेलाई म ठीक छु। देश बचाउन सक्यौँ भने हाम्रो जित हुनेछ ।”