२६ भदौ, काठमाडौं ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले थालेको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न अस्पतालबाट प्राप्त विवरणमा आधारित रहेर मृतकको संख्या ३४ रहेको पुष्टि गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म कुल १,३६८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये ३२१ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

सरकारको सूचना नियन्त्रण र शासन प्रणालीप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रिएका जेनजी आन्दोलनकारीहरूमाथि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए ।

विशेषगरी काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले सुरक्षाघेरा तोडेपछि प्रहरी र आन्दोलनकारीहरूबीच झडप भएको थियो । त्यस क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

गोली लागेर घाइते भएका प्रदर्शनकारीहरूलाई उनीहरूकै साथिहरूले विभिन्न अस्पतालहरूमा पुर्‍याएका थिए । कतिपयको बाटोमै मृत्यु भएको थियो भने केहीको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार, काठमाडौँस्थित सिभिल अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, भेरी अस्पतालमा ५ जना, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३ जना, केएमसी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २–२ जना तथा त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बयोधा अस्पताल र बीएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

सरकारले स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको बताइएको भए पनि प्रदर्शन चर्किंदै गइरहेको छ । मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।