रुपन्देही ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार जिल्ला भर जेनजी प्रदर्शन र विभिन्न स्थानमा तोडफोडको घटनापछि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । यसअघि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।

मंगलबार, सुरक्षा अवस्थालाई मध्यनजर राख्दै, प्रशासनले बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिएका छन् ।

निषेधाज्ञा लागू गरिएको क्षेत्रहरूमा पाँचजनाभन्दा बढी व्यक्तिको जम्मा भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन, र सभा जस्ता विरोध कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आदेश उल्लङ्घन गर्ने वा कार्यान्वयनमा अवरोध पुर्याउने कुनै पनि व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।