इटहरी ।

सोमबार इटहरी उपमहानगरपालिकामा भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शन गर्दै गरेका दुई प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको मेयरको कार्यकक्षमा आगजनी पनि गरेका छन् । स्थानीय प्रशासनका अनुसार, प्रदर्शनकारीहरूले सुशासन र पारदर्शिता माग गर्दै मेयरको कार्यकक्षमा तोडफोड र आगजनी गरेका हुन् ।

सोमबार दिउँसो विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सडकमा उत्रिए । प्रदर्शन सुरुमा शान्तिपूर्ण तरिकाले भए पनि मध्याह्नपछि स्थिति उग्र बनेको थियो ।

प्रदर्शनकारिहरूसँग प्रहरीको सुरक्षा घेरा तोड्न र मेयरको कार्यकक्षमा प्रवेश गर्न सफल भएका थिए । प्रदर्शनपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू सोमबार दिउँसो साढे ३ बजेदेखि लागू भएको छ र अर्को सूचना नभएसम्म कायम रहनेछ ।