काठमाडौं ।

आज (आइतबार) दिउँसो र राति देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा भारी वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ ।

महाशाखाले आइतबार बिहान ६ बजे सार्वजनिक गरेको २४ घण्टे मौसम बुलेटिन अनुसार, दिउँसो देशका पहाडी भू–भागमा सामान्यतः बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रका केही स्थान र अन्य क्षेत्रका थोरै स्थानमा मध्यम खालको वर्षा हुन सक्नेछ । कोसी र कर्णाली प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

रातिको समय (साँझ ६ बजेपछि) को पूर्वानुमान अनुसार, कोसी, मधेसलगायत पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ । यस्तै, अन्य पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना छ । विशेषगरी, कोसी प्रदेशको तराई भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भएमा हल्का वर्षा, १० देखि ५० मिलिमिटर सम्म भएमा मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म भएमा भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म भएमा धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी भएमा अति भारी वर्षाको श्रेणीमा राखिन्छ ।

महाशाखाका अनुसार, “एक–दुई स्थान” भन्नाले सम्बन्धित प्रदेशका कुल क्षेत्रफलको १० प्रतिशतभन्दा कम भागमा वर्षा हुने सम्भावना जनाइन्छ । १०–३० प्रतिशतलाई “थोरै स्थान”, ३०–५० प्रतिशतलाई “केही स्थान”, ५०–८० प्रतिशतलाई “धेरै स्थान” र ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा वर्षा हुने सम्भावनालाई “अधिकांश स्थान” भनिन्छ ।

मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित वर्षाका कारण बाढी, पहिरो र यातायातमा अवरोध आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।