मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) दिउँसो र राति देशभर मौसम बदली रहने र केही स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार, दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ भने अन्य प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा पनि पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।

रातिको समयको पूर्वानुमान अनुसार, कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आकाश सामान्यतया बादलले ढाकिनेछ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ । पहाडी क्षेत्रमा केही र तराईका थोरै स्थानमा वर्षा हुनसक्ने देखिएको छ ।

महाशाखाले ‘दिउँसो’ भन्नाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको अवधि र ‘राति’ भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधिलाई जनाउने स्पष्ट पारेको छ।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, १० देखि ५० मिलिमिटर पानी पर्नुलाई मध्यम, ५० देखि १०० मिलिमिटरलाई भारी, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ ।

त्यस्तै, भूगोलको आधारमा वर्षा हुने क्षेत्रको अनुपातअनुसार ‘एक–दुई स्थान’, ‘थोरै स्थान’, ‘केही स्थान’, ‘धेरै स्थान’ र ‘अधिकांश स्थान’ भन्ने शब्दावली प्रयोग गरिन्छ ।

१० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिएमा ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतसम्ममा ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतसम्ममा ‘केही स्थान’, ५० देखि ८० प्रतिशतसम्ममा ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रमा पानी पर्ने सम्भावना देखिएमा ‘अधिकांश स्थान’ भन्ने उल्लेख गरिन्छ ।

मौसमको यस्तो पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।