काठमाडौं, २० भदौ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित बेथाचौँडी नजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, आज बिहान करिब ६ बजे बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय भुवन भुजेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा बिहान ७ बजे उनको मृत्यु भएको हो ।

घटनामा ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते भएका छन् । टाउको र छातीमा चोट लागेका दाहाललाई उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको लोकनाथ गौतमको घरमा ठोक्किएर कोल्टे परेको थियो । घरका सदस्यहरू सुरक्षित छन् ।

तर पर्खालले थिचिँदा २० वटा कुखुराको मृत्यु भएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।