काठमाडौँ

हाल मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी र मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने छ ।

आज बिहानको समयमा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा साथै मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र चट्याङको सम्भावना रहेको छ ।

दिउँसोको समयमा देशभर सामान्यतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। साथै, तराई क्षेत्रका एक-दुई स्थानहरूमा हावाहुरी पनि हुन सक्ने सम्भावना रहेको छ ।

राति, देशको पहाडी क्षेत्रमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने संभावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने, पहाडी भूभागमा भारी वर्षा हुने सम्भावनासमेत रहेको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको खतरा समेत देखिएको छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।