काठमाडौँ

कुवेतमा हालै विषाक्त मदिरा सेवनबाट बिरामी परेका तथा ज्यान गुमाएका पीडितहरूमध्ये केहीले अंगदान गरेर अन्य धेरैको जीवन बचाएका छन् । उक्त घटनामा १६० जना बिरामी परेका थिए भने २३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १३ जना नेपाली नागरिक रहेका छन् ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार ५१ जनालाई तत्काल मिर्गौला डायलाइसिसको आवश्यकता परेको थियो भने ३१ जनालाई भेन्टिलेटरमा राखिएको थियो । घटनासँग सम्बन्धित अवैध मदिरा उत्पादन र वितरणमा संलग्न ६७ जना पक्राउ परेका छन् ।

कुवेतको अङ्ग प्रत्यारोपण केन्द्रका प्रमुख डा. मुस्तफा अल– मुसावीले कुवेती सरकारी टेलिभिजन केटीभीसँगको अन्तर्वार्तामा जानकारी दिँदै भने, “सघन उपचार कक्षमा भर्ना भएका करिब २० मध्ये १२ जनालाई ब्रेन डेड घोषणा गरिएको थियो । तीमध्ये १० जनाको परिवारले अंगदानका लागि सहमति जनाएका थिए ।”

कुवेती टाइम्सका अनुसार ती १० जनाबाट चिकित्सकहरूले २० वटा मिर्गौला, ३ वटा मुटु, ४ वटा कलेजो र २ वटा फोक्सो सङ्कलन गरेका थिए। फोक्सोबाहेक अन्य सबै अङ्गको सफल प्रत्यारोपण गरिएको छ ।

पछिल्ला पाँच दिनमा ३ वटा मुटु प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएका छन् । कलेजो प्रत्यारोपण कार्यक्रम अस्थायी रूपमा रोकिएकाले कलेजो अबुधाबी पठाइएको थियो भने मुटु र मिर्गौला कुवेतमै प्रत्यारोपण गरिएको हो ।

प्रत्येक अङ्ग प्रत्यारोपणअघि सम्बन्धित परीक्षणहरू गरिएको थियो । मिर्गौलाका लागि रगत परीक्षण, कलेजोका लागि इन्जाइम र इमेजिङ परीक्षण, मुटुका लागि चिकित्सा इतिहास मूल्याङ्कन, तथा फोक्सोका लागि ब्रोंकोस्कोपी र स्क्यान परीक्षण गरिएका थिए ।

डा. मुसावीका अनुसार मृतक दाताबाट अङ्ग सङ्कलन र प्रयोगलाई उच्च प्राथमिकतामा राखिन्छ र यसलाई ‘अनन्त परोपकार’को रूपमा लिइन्छ ।विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेहरूमा नेपाली, भारतीय, बङ्गलादेशी लगायत विभिन्न देशका आप्रवासी श्रमिकहरू थिए। यस घटनापछि कुवेतको सुरक्षानीकायले अवैध मदिरा उत्पादनमा प्रयोग हुने विषाक्त रसायन आपूर्ति गर्ने मुख्य गोदाममा छापा मारेको थियो ।

हावाली अनुसन्धान विभागअन्तर्गतको सामान्य आपराधिक अनुसन्धान विभागले अल-राई क्षेत्रमा रहेको उक्त गोदाम नियन्त्रणमा लिएको थियो ।यसैबिच, कुवेतको गृह मन्त्रालयले सञ्चालन गरेको छापा अभियानमा आवासीय तथा श्रम कानुन उल्लङ्घन गरेको आरोपमा २५८ जना पक्राउ परेका छन् ।विषाक्त मदिरा सेवनपछि अस्पतालमा उपचार गराएर डिस्चार्ज भएका केही व्यक्तिहरूलाई समेत पक्राउ गरेर देश निकाला गरिएको छ ।