बाणगंगा । माउन्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम शनिबार बाणगंगा नगरपालिका- ५ कोपवामा रहेको सहकारीको आफ्नै सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहकारीको वार्षिक प्रगति, वित्तीय अवस्था र आगामी योजना विषयमा विस्तृत समीक्षा गरिएको थियो।सहकारीका व्यवस्थापक रविलाल भट्टराईले PEARLS र HIMAL प्रणालीसहितको वार्षिक तुलनात्मक वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उप–प्रमुख रिता कुमारी चौधरीले सहकारी संस्था आर्थिक सबलीकरणको मेरुदण्ड भएको बताउनुभयो । उहाँले यस सहकारीले देखाएको पारदर्शिता र प्रतिवद्धता प्रशंसनीय भएको भन्दै सदस्यहरूको आर्थिक उन्नति र समुदायलाई सशक्त बनाउन सहकारीले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष युवराज पोख्रेलले सहकारीले छोटो समयमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गर्नुभयो ।

“सदस्यहरूको विश्वास नै हाम्रो बल हो, त्यसलाई कायम राख्दै आगामी दिनमा अझ पारदर्शी, प्रविधिमैत्री र सदस्यमैत्री सेवा विस्तार गर्ने हाम्रो लक्ष्य छ,” उहाँले भन्नुभयो ।सहकारीका सल्लाहकार विष्णुप्रसाद बेलबासे र चतुर्भुज पाण्डेले आ–आफ्ना मन्तव्य राख्दै सहकारीलाई अझ सबल र सदस्यमैत्री बनाउन सुझाव दिनुभएको थियो।

सहकारीका अध्यक्ष युवराज पोख्रेलले अध्यक्षता भएको उक्त कार्यक्रमको संचालन सचिव खेमराज भट्टराईले गर्नुभएको थियो ।बैठकमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, विभिन्न उप–समितिहरु र कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।