कपिलवस्तु । “समृद्धिका लागि सहकार्य” भन्ने मूल मन्त्रका साथ स्थापित सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. ले वाणगंगा नगरपालिका–१ जितपुरमा सहकारी बजार तथा कोसेली घर संचालनमा ल्याएको छ ।

सहकारीले उपभोक्तालाई ठगीबाट जोगाउँदै सस्तो मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले सहकारी पसल सञ्चालनमा ल्याएको हो । बजारमा स्थानीय स्तरमै उत्पादन भएका खाद्यान्न, दलहन, तेलहन, मसला, कस्मेटिकसहित दैनिक उपभोग्य सामग्री उपलब्ध हुनेछन् ।

यससँगै कोसेली घरमार्फत बाँसबाट बनेका बोत्तल, ब्रस, सुपो जस्ता हस्तकलाका सामग्री, साथै स्थानीय कृषकले उत्पादन गरेका कृषि वस्तु तथा सहकारी सदस्यले उत्पादन गरेका सामग्री खरिद–बिक्री हुने व्यवस्था गरिएको छ । कोसेली घरमा वस्तु विनिमय (साटासाट) सेवा पनि उपलब्ध हुनेछ ।

सहकारीका बजार अधिकृत केशव खनालका अनुसार, “अब कृषकले आफ्ना उत्पादन सहकारीमा विक्री गर्न पाउने र आवश्यक सामग्री सहकारीबाट खरिद गर्न सक्नेछन् । यसले बिचौलियाको कमिसन अन्त्य गरी कृषकलाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ ।”

सिनर्जी सहकारीले यसअघि नै वाणगंगा–८ बोडगाउँमा सहकारी बजार तथा कृषि–पशुपंछी सेवा केन्द्र (एग्रोभेट) र वाणगंगा–११ भड्डिहवामा कृषि तथा पशुपंछी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । करिब ११ हजार शेयर सदस्य रहेको सहकारीले सातवटा सेवा केन्द्रमार्फत आफ्ना सदस्यलाई सेवा दिँदै आएको छ ।