कपिलवस्तु । सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यका साथ लक्ष्मी सनराइज बैंक पकडी शाखाले कपिलवस्तुको पटना क्षेत्रमा एक हजार बहुउपयोगी विरुवा रोपण गरेको छ। मायादेवी साझेदारी वन उपभोक्ता समूहको खाली जग्गामा गरिएको उक्त वृक्षरोपण कार्यक्रममा विभिन्न संघ–संस्था, स्थानीय सरोकारवाला र उपभोक्ताको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा प्राविधिक सहयोग पटना सब–डिभिजन वन कार्यालयले गरेको थियो भने विरुवाको सहयोग मायादेवी साझेदारी वन उपभोक्ता समूहले उपलब्ध गराएको हो।

वृक्षरोपण कार्यक्रममा बोल्दै बैंक पकडी शाखा प्रमुख वैधनाथ गुप्ताले वन संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै निरन्तर वृक्षरोपण अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले भने, “वन विनाशबाट जोगाउनु हाम्रो कर्तव्य हो, हामी सबै मिलेर यसलाई अघि बढाउनुपर्छ।”

यस अवसरमा पटना सब–डिभिजन वन कार्यालयका प्रमुख, वरिष्ठ वन अधिकृत सन्दीप वासुकलाले वन संरक्षण र संवद्र्धनका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले लक्ष्मी सनराइज बैंकलगायत संघ–संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे।

त्यस्तै मायादेवी साझेदारी वन उपभोक्ता समूहले आफ्नो क्षेत्रमा वृक्षरोपणमार्फत वन संरक्षण, संवद्र्धन र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनायो।

वृक्षरोपण कार्यक्रममा नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम खण्ड) को प्राविधिक टिम, स्थानीय उपभोक्ता समिति तथा विभिन्न सरोकारवालाको समेत सहभागिता रहेको थियो। आयोजकले सबै सहयोगी पक्षलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गर्यो।