साझा डायरी, बाणगंगा । कपिलवस्तु जिल्लामा पहिलोपटक फेमिली डेन्टल केयर सेन्टर प्रा.लिमा दन्त प्रत्यारोपण (Dental Implant) को सफल शल्यक्रिया सम्पन्न भएको छ। कपिलवस्तु जिल्लाको बाणंगगा नगरपालिका ४,जितपुरमा रहेको फेमिली डेन्टलमा मंगलबार सम्पन्न सो शल्यक्रियाबारे डेन्टलका सञ्चालक वरिष्ठ हाइजिनिस्ट कृष्ण पोख्रेलले जानकारी दिनुभयो।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका डा. सम्राट पराईका अनुसार अब बुटवल वा काठमाडौं पुग्नुपर्ने अवस्था अन्त्य भई कपिलवस्तु मै अत्याधुनिक दन्त प्रत्यारोपण सेवा उपलब्ध हुने भएको छ।

फेमिली डेन्टलमा अनुभवी र दक्ष चिकित्सकहरूको परामर्श तथा उपचारका कारण बिरामीहरू आकर्षित हुने गरेको सञ्चालक पोख्रेलले बताउनुभयो। यस डेन्टलमा दैनिक रूपमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल तथा भैरहवा मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले समेत सेवा प्रदान गर्दै आएका छन्।

हाल फेमिली डेन्टलमा दाँत सफा गर्ने, फिलिङ गर्ने, जरैदेखि उपचार, गिजा उपचार, दाँत उखेल्ने, कृत्रिम दाँत बनाउने, दाँतमा खोल लगाउने, बाँगो–टेडो दाँत सिधा गर्ने, दाँतको एक्सरे लगायत सम्पूर्ण मुख स्वास्थ्यसम्बन्धी उपचार सुविधा उपलब्ध छ।कपिलवस्तुको बाणगंगामा स्थापित भए पनि यो डेन्टलमा अर्घाखाँची, रुपन्देही, दाङ, प्युठानलगायतका छिमेकी जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्।