अर्घाखाँची । पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे९सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन्।

साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे९सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो।

गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म करिब ६८ किलोमिटर सडक स्तरोन्नति गरिएको हो। केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर चौडाइमा सडक फराकिलो बनाइएको सडक डिभिजन कार्यालय शिवपुरका डिभिजन प्रमुख एवं इञ्जिनीयर सविन कोइरालाले बताए। उहाँका अनुसार गोरुसिङ्गेबाट सन्धिखर्कसम्म ६७ दशमलव पाँच किमी सडक कालोपत्र गरिएको छ।

पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको थियो। गत आर्थिक वर्षमा पहिरो रोकथाम तथा स्तरोन्नतिमा रु एक करोड, मर्मतमा एक करोड ५० लाख, सडक सुरक्षामा ५५ लाख, सडकको अत्यधिक मर्मतमा दुई करोड रकम खर्च भएको प्रमुख कोइरालाले जानकारी दिए।

वर्षामा आउने पहिरोले सडकअवरुद्ध हुने भएकाले नियमित सञ्चालनका लागि दुई वटा पहिरो पन्छ्याउन प्रयोग गरिने उपकरण तयारी अवस्थामा राखिएको छ। ठाँडामा जेसिभी र नरपानीमा लोडर तयारी अवस्थामा राखिएको उनले बताए।

गोरुसिङ्गे–सन्धिखर्क खण्डअन्तर्गत शितगङ्गा नगरपालिकाको बसेरीको जङ्गल, अमराई, रिब्दी, सितापुर तथा सन्धिखर्क नगरपालिकाको नरपानीबाट फुद्बाङ्गसम्मको सडकमा पहिरोको उच्च जोखिममा रहेका डिभिजन प्रमुख कोइरालाले उल्लेख गरे। उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा सडक मर्मत तथा स्तरोन्नतिका लागि रु आठ करोड ४० लाख बजेट प्राप्त भएको छ।