काठमाण्डाै । गोरखामा भीरबाट लडेर ज्यान गुमाएका एक व्यक्तिको शव निकाल्न जाँदा लडेर अर्का एक व्यक्तिको पनि ज्यान गएको छ ।

गएको सोमवारदेखि हराइरहेका चुमनुव्री गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय रिनजिन लामाको आज बिहान भीरमा शव भेटिएको थियो । शव निकाल्ने क्रममा ४१ वर्षीय छिसे दोर्जे पनि चिप्लिएर भीरबाट खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शवको मुचुल्कालगायतका कानूनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली खटाएको गाेरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । रिनजिन लामा सोमवार बिजुलीको बिल तिरेर घर फर्किने क्रममा बेपत्ता हुनुभएको थियो ।