कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा निजी विद्यालयका चालक र सह–चालकहरुलाई लक्षित गरि ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम बुधबार बाणगंगा नगरपालिकाको सभाहलमा इलाका प्रहरी कार्यालय पिपराको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको समन्वय भएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख पंकज चुदाँलीले सहजीकरण गर्दै विद्यालयका बस चालक र सह–चालकहरूलाई दैनिक यात्रा सुरक्षित बनाउन आवश्यक आधारभूत ट्राफिक नियम, सडक सुरक्षाका सावधानी र बालबालिकाको ज्यानसँग जोडिएका जिम्मेवारीबारे विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले विद्यालय बस चालक र सह–चालकहरूको जिम्मेवारी सामान्य नभई भविष्यका पुस्ताको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाले ट्राफिक सुरक्षासम्बन्धी गतिविधिलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभयो । “हाम्रा बालबालिकाको सुरक्षाभन्दा महत्वपूर्ण अरु केही हुनै सक्दैन, त्यसैले चालकहरूले अझ जिम्मेवारीपूर्वक काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।यस्तै उपप्रमुख रिता कुमारी चौधरीले विद्यालय बस व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाउन चालक–सहचालक सचेत हुनु जरुरी रहेको बताउनुभयो । उहाँले नगरपालिकाले यस प्रकारका सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाउनुभयो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले विद्यालय बसमा मापदण्ड अनुसारका सुरक्षात्मक उपकरणको व्यवस्था गर्नुपर्ने र चालक–सहचालकले कुनै पनि प्रकारको लापरबाही नगर्नुपर्ने बताउनुभयो । उहाँले अभिभावक र विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलाई पनि बस र चालकहरुको नियमित निगरानी गर्न आग्रह समेत गर्नुभयो ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय सञ्चालक, शिक्षक, प्रहरी अधिकारीहरूसहित विद्यालयका बस चालक–सहचालकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।