कपिलवस्तु । सामुदायिक विद्यालयले पनि शैक्षिक गुणस्तरमा नयाँ अभ्यास गर्न सक्छ भन्ने उदाहरण कपिलवस्तुको बाणगंगा नगरपालिका–११ स्थित ओदारी माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ।विद्यालयले कक्षा १२ का विद्यार्थीलाई नियमित पठनपाठनसँगै अतिरिक्त (ट्युशन) कक्षा सञ्चालन गरेको थियो। परीक्षा अगाडि विशेष तयारीका लागि संकलन गरिएको ट्युशन शुल्क विद्यार्थीहरूले सफलता हासिल गरेपछि विद्यालयले फिर्ता गरेको खडानन्द गौतमले साझा डायरीलाई बताउनुभयो ।

+२ संयोजक खडानन्द गौतमका अनुसार, “विद्यार्थीलाई उत्प्रेरित गर्ने उद्देश्यले ट्युशन कक्षा सञ्चालन गरिएको थियो। उनीहरू पास भएपछि ट्युशन शुल्क फिर्ता गर्दा विद्यार्थी मात्र होइन, अभिभावक पनि खुसी भएका छन्।”

यस वर्ष विद्यालयबाट २६ जना विद्यार्थीमध्ये ६१.५४ प्रतिशतले सफलता प्राप्त गरेका छन्। विद्यार्थी अस्मिता पौडेलले ३.३० जीपीए ल्याउँदै विद्यालयको शैक्षिक यात्रामा विशेष योगदान गरेकी छन्।

प्रधानाध्यापक मिना कुमारी चौधरीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई दिँदै, “शुल्क फिर्ता गर्ने अभ्यासले सामुदायिक विद्यालय पनि परिणाममुखी हुन्छन् भन्ने सन्देश समाजमा पुगेको छ,” भन्नुभयो।विद्यालयले नतिजा सार्वजनिक भएपछि सफल विद्यार्थीलाई सम्मानसमेत गरेको छ।