कपिलवस्तु । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित द बुद्ध ल्याण्ड युवा क्लबद्वारा आयोजित नकआउट नगर स्तरीय क्रिकेट प्रतियोगिता–२०८२ मंगलबारदेखि बाणगंगा नगरपालिका–५ स्थित खेलकुद मैदानमा सुरु भएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका उपप्रमुख रिताकुमारी चौधरीले खेलकुदले युवामा शारीरिक तथा मानसिक सशक्तिकरण गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने भएकाले यसलाई निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो।

विशिष्ट अतिथि वडा नं.५ का अध्यक्ष दुनिका भुसालले युवाको प्रतिभा निखार्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण योगदान गर्ने भन्दै खेलमैदानको पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी वडा नं.५ का पूर्व अध्यक्ष भिस्मराज भुसालले खेलकुदमार्फत सामाजिक एकता र सद्भाव बढ्न सक्ने भएकाले सबै युवाले खेलतर्फ आकर्षित हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा वडा सदस्य, कोपवा प्रहरी चौकीका प्रमुख, समाजसेवी, सिद्धार्थ क्याम्पसका स्ववियु अध्यक्ष मनोज न्यौपानेलगायतको उपस्थिति रहेको थियो।आज भएको उद्घाटन खेलमा वडा नं.११ र वडा नं.२ पिपराबीच तथा वडा नं.८ र वडा नं.७ बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा ९ वटा टिम दर्ता भएका छन्।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष काशिराम खनालले गर्नुभयो। उहाँले खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र सक्षम बनाउन मद्दत गर्ने भएकाले क्लबले निरन्तर यस्ता गतिविधि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उक्त कार्यक्रम सम्पन्न गर्नको लागी विशेष सहयोग युवा संघका जिल्ला अध्यक्ष तिलक गिरी र समाजसेवी कृष्ण कार्कीले विशेष सहयोग गर्नभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन समाजसेवी मधु पाण्डेले गर्नुभयो।