बाणगंगा । बाणगंगा नगरपालिका–८ मा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण कार्य तीव्र गतिमा जारी छ। कुल १८२३ जना लाभग्राहीमध्ये हालसम्म १३४४ जनाको नविकरण सम्पन्न भएको वडा अध्यक्ष बाबुराम अर्यालले साझा डायरीलाई जानकारी दिनुभयो।

नविकरणका क्रममा धेरै वृद्धवृद्धाहरूले फारम भर्ने, कागजात संकलन गर्ने जस्ता प्रक्रियामा समस्या भोगिरहेका थिए। सोही कारण असहाय लाभग्राहीलाई सहज बनाउन वडा अध्यक्ष अर्यालले घर–घरमै पुगेर भत्ता नविकरण गर्ने अभियान सुरु गर्नुभएको हो।

यसै क्रममा अध्यक्ष अर्याल आज बाणगंगा पुलचोकस्थित श्याम बहादुर शाहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्नुभयो। घरदैलोमै पुगेर प्रदान गरिएको यस सेवाले असहाय तथा वृद्धवृद्धा लाभग्राहीलाई ठूलो राहत पुगेको छ।

“वृद्धवृद्धा तथा असहाय नागरिकलाई कार्यालय धाउनुपर्ने बाध्यता हटाउन घरमै पुगेर सेवा दिने व्यवस्था मिलाइएको हो,” वडा अध्यक्ष अर्यालले बताउनुभयो।

स्थानीय बासिन्दाहरूले वडाध्यक्षको यो मानवीय कदमको खुलेर प्रशंसा गरेका छन्। उहाँको सक्रियताले वडा नं. ८ का लाभग्राहीले सहजै सेवा पाउने विश्वास गरिएको छ।