काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको महिला राष्ट्रिय टिमको वरीयतामा नेपाल ८७ औं स्थानमा उक्लेको छ । महिलाको फिफा वरीयता निस्कन थालेयता नेपालको यो अहिलेसम्मकै उच्च स्थान हो ।

नेपालको पछिल्लो वरीयतामा सयौं स्थानमा रहेको थियो । यो यसै वर्षको जुन १२ मा प्रकाशित भएको थियो । नेपालको यसअघिको उच्च वरीयतामा ९१ रहेको थियो, जुन सन् २०१७ को डिसेम्बरमा प्राप्त भएको थियो । एसियाली देशमध्ये नेपाल १६ औं स्थानमा रहेको छ । नेपाल अगाडि भारत मात्र रहेको छ ।

भारत एसियाली देशमध्ये १२ औं स्थानमा छ । भारत समग्रैमा ६३ औं स्थानमा छ । बंगलादेश भने समग्रमा १ सय ४ औं स्थानमा छ र यो एसियाली देशमध्ये १९ औं स्थान हो । नेपालले पछिल्लो पटक एएफसी एसिया कप छनोट खेलेको थियो । उज्वेकिस्तानमा भएको त्यस प्रतियोगितामा नेपाल छनोट हुन भने सफल रहेन ।