बाणगंगा । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा बाणगंगा नगरपालिका–११ मा अवस्थित हेमराज माध्यमिक विद्यालयले सामुदायिक विद्यालयतर्फ कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको दाबी गरेको छ।

विद्यालयका प्रधानाध्यापक विकास श्रेष्ठका अनुसार विद्यालयकी मेधावी छात्रा पुनम चौधरीले ३.८५ जिपिए प्राप्त गर्दै जिल्लाभरिका सामुदायिक विद्यालयहरूमा शीर्ष स्थानमा रहेकी छन्। त्यसैगरी अर्का विद्यार्थी अर्जुन लम्सालले ३.८२ जिपिए ल्याएका छन्।

श्रेष्ठका अनुसार यस वर्ष कुल ६४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये ३६ जना उत्तीर्ण भएका छन्। यसअनुसार विद्यालयको उत्तीर्ण प्रतिशत ५६.२५ रहेको छ।

नतिजा विवरणअनुसार:

२ जनाले ३.८५ र ३.८२ जिपिए

४ जनाले ३.६० देखि ३.२१ जिपिए

७ जनाले ३.२० देखि २.८१ जिपिए

१६ जनाले २.८० देखि २.४१ जिपिए

७ जनाले २.४० देखि २.० जिपिए प्राप्त गरेका छन्।

विद्यालयले सार्वजनिक गरेको नतिजा तथा उत्कृष्ट विद्यार्थीहरूको प्रदर्शनका आधारमा, हेमराज माविले सामुदायिक विद्यालयहरूबीच कपिलवस्तु जिल्लामै अग्रस्थान कायम गर्दै गुणस्तरीय शिक्षाको नयाँ परिचय बनाएको बताएको छ।

विद्यालय परिवारले सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई दिंदै, आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।