दाउन्ने । नवलपुरको दाउन्ने विश्वकर्मा मन्दिर नजिकै पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै बाटो अवरुद्ध भएको हो।

हिजोदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेगर बगाएर खाल्टा खुल्टी पनि भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले उकालोमा सवारी साधनहरु बाटो चिप्लोका कारण उक्लन नसकेर लामो लाइन लाग्न थालेको छ।

दाउन्नेमा बाटो विग्रिए पछि सवारी साधनलाई अहिले दुम्किबास र बर्दघाट रोकेर राखिएको छ। आज विहान साढे ७ बजेबाट सडक अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउने प्रयास भई रहे पनि पानी नरोकिएसम्म बाटो खुलाउन सकिने सम्भावना निक्कै कम रहेको प्रहरीले जनाएको छ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये दाउन्ने केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानीमा बाटो हिलो हुने र घाम लाग्दा बाटो धुलाम्य हुने गरेको छ।