कपिलवस्तु । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित कपिलवस्तु ओएसिस क्लबद्वारा आयोजित कपिलवस्तु ओएसिस क्रिकेट कप २०८२ शुक्रबारदेखि मायादेवी रंगशाला, बोडगाउँमा सुरु भएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका सचिव नीमप्रसाद पोखरेलले युवामा खेलप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै क्लबद्वारा आयोजित प्रतियोगिताले खेलाडीहरूलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बाणगंगा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बाबुराम अर्याल, वैज्ञानिक वन व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मी, लुम्बिनी भिजन क्याम्पसका प्रमुख सुरेन्द्र पाण्डे, र मायादेवी रंगशालाका अध्यक्ष ईश्वरी गिरीको उपस्थिति रहेको थियो।

शुक्रबार पहिलो खेल आयोजक क्लब कपिलवस्तु ओएसिस र जनप्रिय क्लब पिपराबीच सम्पन्न भएको छ। शनिबार हुने खेलहरूमा बाणगंगा ७ र बाणगंगा ४, बाणगंगा स्कुल र होराइजन स्कुल, लुम्बिनी भिजन कलेज र बाणगंगा नगरपालिका वडा नम्बर ११, साथै वडा नम्बर ६ र वडा नम्बर १बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष महेन्द्र पाण्डेले गर्नुभएको थियो भने सञ्चालन साझा डायरी अनलाइनका प्रबन्धक पशुपति गिरीले गर्नुभएको थियो।कार्यक्रममा स्वागत मन्तव्य ओएसिस क्लबका उपाध्यक्ष दिपेन्द्र पौडेलले राख्नुभएको थियो। उहाँले प्रतियोगिता निष्पक्ष रूपमा सम्पन्न हुने जानकारी दिनुका साथै क्लबले खेलप्रति रुचि राख्ने युवाहरूलाई लक्षित गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने जानकारी दिनुभयो।