बाणगंगा — ओएसिस क्लब बोडगाउँको आयोजनामा कपिलवस्तु ओएसिस क्रिकेट कप २०८२ आगामी शुक्रवारदेखि सुरु हुने भएको छ। क्लबका अध्यक्ष महेन्द्र पाण्डेले जानकारी दिएअनुसार प्रतियोगिता साउन १६ गते शुक्रवारबाट सुरु हुने छ, जसको उद्घाटन खेल दिउँसो ३ बजे मायादेवी रंगशाला, बाणगंगा–०८, बोडगाउँमा हुनेछ।

शानदार पुरस्कारसहितको यो रोमाञ्चक प्रतियोगिता बाणगंगा नगरपालिकाभित्रका युवा खेलाडीहरूबीच हुने हो। विजेता टोलीलाई नगद रु. ११,१११ र उपविजेता टोलीलाई रु. ६,६६६ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमले साउन १३ गते (मंगलवार) बाट दर्ता गराउन सक्नेछन् भने दर्ताको अन्तिम म्याद साउन १५ गते (बिहीवार) सम्म रहनेछ। दर्ता शुल्क रु. १५०० तोकिएको छ।

क्लबका अनुसार खेलमा उमेर सीमा नराखिएको भए पनि केवल बाणगंगा नगरपालिकाभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउनेछन्। टिम निर्माण आफ्नै वडाभित्र गर्नुपर्नेछ, मिश्रित वडाको टिम स्वीकार्य हुनेछैन

अध्यक्ष पाण्डेले बाणगंगा क्षेत्रका सम्पूर्ण खेलप्रेमी, युवाहरू, सहयोगी संस्था तथा शुभेच्छुहरूलाई प्रतियोगितामा सक्रिय सहभागिताको लागि हार्दिक आह्वान गर्नुभयो।